१५.विस्थापित हुनेहरूलाई बसोबास गराउने ः
(१) योजनाको निमित्त नेपाल सरकारले जग्गा प्राप्त गराउँदा कुनै व्यक्ति विस्थापित भई त्यस्तो व्यक्तिको अरू कुनै घर वा जग्गा
नभई घरबास नै उठ्ने भएमा त्यस्तो मर्का पर्ने व्यक्तिलाई अन्यत्र बसोबास गराउन समितिले त्यस्तो बसोबासको निमित्त एउटा योजना बनाई नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विस्थापित व्यक्तिको निमित्त वा बसोबासको योजना बनाउँदा समितिले नेपाल सरकारको अधिनस्थ वा ऐलानी मिल्दो जग्गामा बसोबास गराउने गरी योजना तयार गर्नुपर्नेछ ।
(३) उपयिम (२) बमोजिमको बसोबासको योजना नेपाल सरकारबाट स्वीकृत भएमा समितिले तोकेको शर्तमा रही बसोबास गर्ने गरी नेपाल सरकारको अधिनस्थ वा ऐलानी जग्गा समितिले विस्थापित व्यक्तिलाई आवश्यकतानुसार बिक्री वा वितरण गर्नेछ ।
(४) विस्थापित व्यक्तिको बसोबासको निमित्त नेपाल सरकारको अधिनस्थ वा ऐलानी जग्गाको उपनियम (३) बमोजिम बिक्री वा वितरण भएपछि सो जग्गाको लगत कट्टा गर्न समितिले सम्बन्धित माल अड्डा वा भूमि प्रशासन कार्यालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लगत कट्टाको निमित्त लेखी आएमा माल अड्डा वा भूमि प्रशासन कार्यालयले पनि सो जग्गाको लगत कट्टा गर्नुपर्नेछ ।